“पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्राप्त जिल्ला” घोषणा कार्यक्रम, २०८३

Government of Nepal

जनस्वास्थ्य कार्यालय रसुवा

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम
मिति: २०८३ साल असार २९ गते, सोमबार

पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म फैलिएको नेपाल बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विशेषताले समृद्ध एक सुन्दर राष्ट्र हो। यहाँको विविध भौगोलिक बनावट, प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र परम्पराले देशलाई अझ आकर्षक बनाएको छ। सातै प्रदेश र ७७ वटै जिल्लाहरूले आफ्ना–आफ्ना विशिष्ट पहिचान बोकेका छन्।

ती मध्ये बागमती प्रदेश अन्तर्गत पर्ने रसुवा जिल्ला प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण जिल्ला हो। उच्च हिमाली भूभाग, रमणीय पहाडी क्षेत्र, हिमनदी, झरना, तथा जैविक विविधताले भरिपूर्ण यस जिल्लाले नेपालको पहिचान झल्काउँछ। लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाईकुण्ड जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरू यहाँका मुख्य आकर्षण हुन्। विभिन्न जातजाति—जस्तै तामाङ, शेर्पा लगायतका समुदायहरूको बसोबास रहेको यस जिल्लामा आफ्नै मौलिक संस्कृति, भाषा र परम्परा विद्यमान छन्। भौगोलिक कठिनाइका बाबजुद यहाँका जनताले स्वास्थ्य, शिक्षा लगायत सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्दै आएका छन्।

स्वास्थ्य क्षेत्रको सन्दर्भमा रसुवा जिल्ला बागमती प्रदेशकै अग्रणी जिल्लाको रूपमा स्थापित हुँदै आएको छ। सबैका लागि स्वास्थ्य भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै जिल्लाले स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्न निरन्तर प्रयास गर्दै आएको छ। विशेषगरी राष्ट्रिय खोप कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै खोप लगाउने उमेर समूहका सम्पूर्ण बालबालिकालाई खोपको पहुँचमा ल्याउन सफल भएको छ।


नेपालमा खोपको इतिहास

नेपालमा खोप कार्यक्रमको सुरुवात वि.सं. २०३४ सालतिर (सन् १९७७) मा विस्तारित खोप कार्यक्रम (Expanded Programme on Immunization - EPI) को रूपमा भएको मानिन्छ। सुरुमा क्षयरोग (BCG), डिफ्थेरिया, टिटानस, कुकुरखोकी (DPT), पोलियो र दादुरा विरुद्धका खोपहरू सञ्चालन गरिएका थिए। समयक्रमसँगै हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा (Hib), जापानी इन्सेफ्लाइटिस, रोटाभाइरस, निमोनिया (PCV) लगायतका खोपहरू थप गरिँदै आएका छन्। नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा खोप कार्यक्रमलाई विस्तार गर्दै बालमृत्यु दर घटाउन र बालस्वास्थ्य सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। हाल खोप कार्यक्रम देशभर प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको छ।


पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

नेपाल सरकारले दुई दशकअघि देखि सञ्चालन गर्दै आएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को अन्त्यमा रसुवा जिल्लाले पूर्ण खोप सुनिश्चितता हासिल गरेको छ। जिल्लाका नौकुण्ड, गोसाईकुण्ड, कालिका, आमाछोदिङ्मो तथा उत्तरगया गाउँपालिकाहरूले पूर्ण खोप सुनिश्चितता प्रक्रिया सफलतापूर्वक पूरा गरेपछि सम्पूर्ण जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको हो।

पूर्ण खोप घोषणा प्रक्रिया अनुसार वडा, पालिका हुँदै जिल्ला खोप समन्वय समिति मार्फत जनस्वास्थ्य कार्यालय रसुवाले प्रदेश खोप समन्वय समितिमा प्रस्ताव पेश गरेको थियो। सो प्रस्तावको आधारमा प्रदेशबाट अध्ययन, अनुगमन तथा मूल्याङ्कन पश्चात घोषणा गर्ने अनुमति प्रदान गरिएपछि मिति २०८३ साल असार २९ गते सोमबार औपचारिक घोषणा गरिएको हो।


उपलब्धि र तथ्यांक

जनस्वास्थ्य कार्यालय रसुवाले प्रत्येक वर्ष घरदैलो कार्यक्रम सञ्चालन गर्दै खोज र खोप अभियान प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ।
स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता—पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नारासहित सञ्चालन गरिएको अभियान अन्तर्गत:

  • जन्मदेखि १५ महिनासम्मका ५५१ जना बालबालिकाले सबै नियमित खोप पूरा गरेका छन्।
  • १६ देखि २३ महिनासम्मका ५७२ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्।
  • जिल्लामा शून्य डोज (Zero-dose) बालबालिका नभएको सुनिश्चित गरिएको छ।

सम्मान तथा कार्यक्रमका विशेषताहरू

घोषणा कार्यक्रममा प्रदेश खोप समन्वय समितिबाट जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख अशोक कुमार घिमिरे लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा:

  • पाँचवटै स्थानीय तहका स्वास्थ्य शाखाहरू
  • उत्कृष्ट खोप कार्यकर्ता
  • उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिएको थियो।

साथै,

  • महिला स्वास्थ्य स्वयंसेविकाहरूबाट सांस्कृतिक गीत प्रस्तुति
  • जनस्वास्थ्य कार्यालयका कर्मचारीहरूद्वारा सामूहिक नृत्य

जस्ता कार्यक्रमहरूले समारोहलाई थप आकर्षक बनाएका थिए।


आभार तथा निष्कर्ष

यस ऐतिहासिक उपलब्धि हासिल गर्न सहयोग, समन्वय र योगदान पुर्‍याउनु हुने सम्पूर्ण सरोकारवाला निकायहरू, स्थानीय तह, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा आम नागरिकप्रति जनस्वास्थ्य कार्यालय रसुवा हार्दिक धन्यवाद व्यक्त गर्दछ।

पूर्ण खोप सुनिश्चितता केवल एक उपलब्धि मात्र नभई आगामी पुस्ताको स्वस्थ भविष्य सुनिश्चित गर्ने महत्वपूर्ण आधार हो। यस उपलब्धिलाई दिगो रूपमा कायम राख्दै आगामी दिनहरूमा पनि स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै लैजान जनस्वास्थ्य कार्यालय रसुवा प्रतिबद्ध रहेको छ।

सो कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक तथा जिल्ला खोप समन्वय समितिका संयोजक श्री अशोक घिमिरेको अध्यक्षता, नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष श्री चन्द्र बहादुर गलान तथा प्रमुख जिल्ला अधिकारी श्रीमान् नरेन्द्र परियारको विशिष्ठ आतिथ्यता, जनस्वास्थ्य कार्यालयका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका सदस्य सचिव श्री निरध्वज घर्तीमगरको समग्र रसुवा जिल्लाको खोपको अवस्थाको प्रतिवेदन प्रस्तुतिकरण, जनस्वास्थ्य अदिकृत उन्नती महर्जनको स्वागत मन्तव्य र तारापती बि.सी.को संचालनमा सम्पन्न भएको थियो ।