प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

रसुवा जिल्लामा एचपीभी विरुद्धको खोप अभियान सम्पन्न

रसुवा जिल्लामा एचपीभी विरुद्धको खोप अभियान सम्पन्न

जनस्वास्थ्य कार्यालय रसुवाका कार्यालय प्रमुख श्री झम प्रसाद आचार्यका अनुसार कक्षा ६ मा पढ्ने र १० वर्षका बालिकालाई लक्षित गरी खोप कार्यक्रम रसुवा जिल्लामा पूर्ण सफलताका साथ सम्पन्न भएको बताउनुभएको छ ।

यसअघि अभियानका रूपमा सञ्चालन गरेका थियौं । अहिले नियमित कार्यक्रममा समावेश भएको छ, कार्यालय प्रमुख आचार्यले भन्नुभयो१० वर्ष पूरा भएका र ६ कक्षामा अध्ययनरत बालिकालाई एचपीभी खोप दिएकाछौँ ।

गत वर्ष सरकारले देशभर अभियानको रूपमा कक्षा ६ देखि १० सम्मका छात्रासहित विद्यालय नजाने भए १० देखि १४ वर्ष उमेर समूहका किशोरीसमेत गरी १६ लाख किशोरीलाई खोप दिएको थियो । जसमध्ये ९४ प्रतिशतले खोप लगाएका थिए ।

कार्यालय प्रमुख आचार्यका अनुसार नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको क्यान्सर एक हो । पाठेघरको मुखको क्यान्सर हुने मुख्य भूमिका ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण हुन्छ ।

एचपीभी भाइरस सरुवा भएकाले सजिलै फैलिन्छ । यो मुख्यतः छालाको सम्पर्कबाट सर्छ ।

ह्युमन प्यापिलोमा भाइरस २०० भन्दा धेरै प्रजातिका हुन्छन् । तर मानव शरीरमा क्यान्सर गराउने प्रजाति १२ प्रकारका हुन्छन् । तीमध्ये ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट हुने गरेको छ ।

हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान छ । जसमध्ये १ हजार ३१३ जनाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ ।

पाठेघरको मुखको क्यान्सर हुँदा योनीबाट गन्हाउने पानी आउने, रगत मिसिएको पानी आउने, पेट दुख्ने, महिनावारी सुकिसकेका महिलालाई समेत रगत देखिने, यौनसम्पर्क गरेपछि रगत देखिने जस्ता लक्षण देखिन्छन् ।

भाइरस संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धूमपान तथा मद्यपान गर्ने र यौनांगको सरसफाइमा ध्यान नदिँदा हुन्छ ।

 

एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर मात्र होइन, एचपीभीबाट हुनसक्ने अन्य समस्याबाट पनि बचाउँछ । एचपीभी विरुद्धको खोपले पाठेघर मुखको क्यान्सर, गुदद्वारको क्यान्सर, घाँटी र जनेन्द्रीयहरूको क्यान्सरबाट पनि बचाउँछ ।

 

एचपीभी विरुद्धको खोप अभियान अनुगमनका क्रममा लिइएका केही तस्वीरहरु