“पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्राप्त जिल्ला” घोषणा कार्यक्रम

Government of Nepal

२०८२ असार ३० गते

रसुवा जिल्ला अब औपचारिक रूपमा “पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्राप्त जिल्ला” घोषित भएको छ। कालिका गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक श्री डा. नरेन्द्र कुमार झाले जनस्वास्थ्य कार्यालयक रसुवाका कार्यालय प्रमुख श्री झम प्रसाद आचार्यलाई  “पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्राप्त जिल्ला” को प्रमाण पत्र प्रदान गर्नुभएको हो।

१६ देखि २३ महिना उमेर समूहका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप १५ महिनाको उमेरभित्र प्राप्त गरेको पुष्टि भएपछि रसुवा जिल्लाले पूर्ण खोप सुनिश्चितता र दिगोपनाको मापदण्ड पूरा गर्दै यो राष्ट्रिय मान्यता प्राप्त गरेको हो। यसअघि जिल्लाका सबै पाँचवटा स्थानीय तहहरू पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका थिए।

समारोहमा जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख झमप्रसाद आचार्यले जिल्लाको समर्पण, खोप पहुँचको विस्तार, सेवा सुधार, तथा स्थानीय सरोकारवालाको भूमिकालाई उजागर गर्दै यस सफलतालाई दीगो स्वास्थ्य प्रणाली निर्माणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो।

घोषणा समारोहलाई सम्बोधन गर्दै डा. नरेन्द्र कुमार झाले देशभर १६ हजारभन्दा बढी खोप केन्द्रमार्फत नियमित खोप सेवा सञ्चालन भइरहेको जानकारी दिँदै खोपको खेर जाने दर न्यूनीकरण, सेवा पहुँचको समावेशिता, र दिगोपनालाई निरन्तरता दिन सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो। साथै, कुनै पनि बालबालिका खोप सेवा प्राप्तिबाट वञ्चित नहोस् भनेर सम्बन्धित निकायहरूलाई स्रोत र साधनको उपयुक्त प्रयोग गर्न अपिल गर्नुभयो।

कार्यक्रममा जिल्लाका पाँचवटै गाउँपालिका तथा खोप सुनिश्चित घोषणामा योगदान पुर्‍याउने संघसंस्थाहरूलाई सम्मान गरिनुका साथै उत्कृष्ट खोपकर्तहरूलाई पनि प्रशंसा गरिएको थियो।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रसुवाका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक अशोककुमार घिमिरे, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु साङ्मो घले, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ, रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा स्वास्थ्य अस्पताल व्यवस्थापन समितिका अध्यक्ष, नागरिक समाजका अगुवा, महिला स्वयंसेविकाहरू तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता—पूर्ण खोप सुनिश्चित जिल्ला हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ सञ्चालनमा आएको यो खोप अभियान अब सफलतापूर्वक सम्पन्न भएको घोषणा समारोहमा औपचारिक रूपमा गरिएको हो।

जनस्वास्थ्य कार्यालयक रसुवाका कार्यालय प्रमुख श्री झम प्रसाद आचार्यको अध्यक्षता, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक श्री डा. नरेन्द्र कुमार झाको प्रमुख आतिथ्यता जनस्वास्थ्य कार्यालयक रसुवाका सूचना अधिकारी श्री तारापती बि.सी को संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।